
त्यो मान्छे
(संघर्षको कथा)
डीबी गुरुङ
डट्पेन बालेर घरमा
उनको अर्थात् लिला रानाको माइतीघर प्युठान रनै गाउँ हो । गाउँमा जनजातिहरुको घना बस्ती थियो तर सन्तानलाई पढाउने घरहरुमध्ये उनको माइतीघर पर्छ । लिलाका सात भाइनाहरुमध्ये उनका एक दाजु बाहेक सबै दिदीबहिनीहरु नै थिए ।
पहाडी गाउँ,उब्जनी कमी । बाबु भारततिर पस्थे घरिघरि मुग्लानिया बनेर । आमाको भरमा घर चल्थ्यो । जनतन बाबुको कमाइले घरको तेलमसला,लत्ताकपडा धानिन्थ्यो होला ।
स्कूल पुग्नुपर्ने गाउँ अर्घाखाँचीको सीमाना । दाङबाङ । उनलाई सोही स्कूल पढ्न जाँदा तीनघण्टा लाग्थ्यो । जाडो दिनमा स्कूलबाट घर फर्किदा झमक्क रात पथ्र्यो । वनको बाटो डर लाग्दो उस्तै । उमेर र मान्छेको कद सानो तर लिलाको शाहस बडेमानको । फर्किदा लाईट जडित डट्पेन बालेर घर आइपुग्थिन् । त्यतिबेला घरमा खाना खाने बेला भइसक्थ्यो ।
दुःख गरेरै सोही विद्यालयबाट लिलाले २०६७ मा द्वितीय श्रेणीमा प्रवेशिका परीक्षा उत्तीर्ण गरिन् ।
फस्ट गराउने स्कूल
लिला राना मान्छे साना । आँट अदम्य । स्कूलमा हुने सबै खालका अतिरिक्त कार्यक्रममा अब्बल बनेर निसिक्ने । खै ! सरहरुले जानेर हो या नजानेर धेरैजसो प्रतियोगितामा मलाई प्रथम बनाइ दिन्थे लिला भन्दैथिइन् । सम्भवत् उनी प्रथम नभएका कुनै प्रतियोगिता हुने थिएनन् होला ।
लिलाले आफ्नै पारामा भनिन्–मलाई सरहरुले नै फस्ट गराउँथे वा मेरो प्रतिभा वा क्षमतालाई कदर गरेर ? कविता,गीत,खेलकूदमा उनी कहिल्यै दोस्रो हुन नपरेको खुसी सुनाइ रहेकी थिइन् । जिल्ला स्तरीय खेलकूद प्रतियोगितामा समेत शील्ड हातपारेकी रहेछिन् ।
लोकसेवा लड्न नागरिकता
पटक पटक बाबालाई नागरिकता बनाउन भनेपनि लिलाका बाबाका कानमा बतास लागेन । उनी आफै दाइलाई लिएर भरदिनको यात्रापछि सदरमुकाम खलङ्गा पुगे । द्वन्द्वकालीन अवस्था थियो । मुचुल्का बनाउनै गारो नागरिकता लिन । आमा विरामी भएर बाबाले उपचार गर्न भारत लगेर गएका छन् भनी ढाँटेर लिलाले नागरिकता लिइन् ।
सिडियोले किन नागरिकता चाहियो अहिल्यै भनेर सोधेका रहैछन् लिलासंग । लिलाले लोकसेवा लड्न भनेपछि सिडियो साहेव त दङ्ग ! नागरिकता बनाएर घर फर्किदा त गाली गर्लान् भनेको त छोरी त यस्तो हुनुपर्छ भनेर बाबाले गौरव पो गरेछन् ।
अघिल्लो रात नै उनले बाबाको नागरिकता,आफ्नो जन्मदर्ता र सर्टिफिकेट सिरानीमा लुकाएर राखेछन् आफैले अनि सुटुक्क पुगेका रहेछन् जिल्ला प्रशासन कार्यालय,प्युठानमा नागरिकता बनाउन ।
गन्तव्यहीन शैक्षिक यात्रा
प्रवेशिका उत्तीर्ण गरेपछि लिलालाई कक्षा ११÷१२ पढ्ने ठूलो धोको थियो तर दाइभाउजूले अवरोध सिर्जना गरे अनि बाबाले अनुमति दिन सकेनन् । रिजल्ट आइ सकेको थियो असारमा तैपनि उनी पढ्न कहि गइनन् । स्कूलका कमल सरले बढो चासो दिएर पढ्न पर्छ भनि रहन्थे ।
एक दिन बाबासंग १० हजार बोकेर गन्तब्यहीन शैक्षिक यात्रामा एक्लै हिडिन् । बाटामा हिड्दै गर्दा उनलाई कमल सरको फोन आयो र सोधे लिलाई कहाँ छौं ? उनले हतारमा भनिन्–पढ्न हिडेको । सरले सोधे फेरि कहाँ ? लिलाले जवाफ दिइन् रे थाहा छैन जा गएन नि पढ्न जाने त हो । सरले दाङको लालमटियामा पढ्न सल्लाह दिए । उनी भालुबाङबाट मोटर चढेर लालमटिया पुगेकी रहेछिन् ।
उच्च माविमा भर्ना हुन खोज्दा त ढिला भई सकेको रहेछ । तैपनि सरहरुको सहयोगमा मानविकी तर्फ भर्ना भएर कक्षा ११ र १२ लगातार उत्तीर्ण गरिछन् ।
घरबाट हिड्दा उनलाई कहाँ जाने,के विषय पढ्ने ,कति खर्च लाग्छ भन्ने कुराको ठेगान थिएन । कमल सरको सहयोगले उनी सही ठाउँमा पुगेका रहेछिन् ।
विज्ञापन समेत पढ्ने
लिलाका दुःखका दिनहरु एकोहोरो आइ रहन्थे पढ्दा । पढ्नलाई आर्थिक अभाव उस्तै थियो । तर उनले उच्च मावि पढ्दा साहित्यिक पुस्तक बेचेर पैसा कमाउँदो रहेछिन् । फुर्सद हुँदा उनले स्थानीय लालमटिया बजारका पुस्तक पत्रिका पसलमा गएर पत्रिका खुब पढदा रहेछिन् । यतिसम्म कि विज्ञापन समेत अक्षरस । भनेपछि उनमा पढ्न पर्छ भन्ने कुराको गहिराई कतिसम्म रहेछ भन्ने कुराको नापो लिनै गाहे भो ।
लिलामा जीवनको बुझाइ सानै उमेरमा भएपनि धेरै रहेछ । कारण अभाव र अवस्था मुख्य रहेको पाउन सकिन्छ । लिलाले स्कूले जीवनमा त दुःख गरेकै हुन् भन्ने कुराको प्रमाण पनि आज जीवितै पाउन सकिन्छ ।
हात उठाएर अध्यक्ष
उनी पढ्ने उच्च माविमा एकदिन मगर विद्यार्थी संघले संगठन बनाउन आइ पुगे छ । मगर विद्यार्थी संघका साथीहरुले आफ्नो संगठनको परिचय,इतिहास,वर्तमानमा गर्दै आएका कामहरु र भविष्यका योजनाहरु पेश गरिरहँदा उनले खुब ठनासेर सुनि रहेछन् ।
समिति गठन गर्ने बेला भयो,को अध्यक्ष बन्ने भनेर आयोजकहरुले सोधि रहन्छन् तर कसैले न बोल्छन् न हात उठाउँछन् रे !
खोइ के झोंक चल्यो कुन्नि लिलालाई एक्कासी अध्यक्ष बन्न हात उठाईन । सबैले समर्थनका ताली बजाए । उनी भईन् मगर विद्यार्थी संघकी एकाई अध्यक्ष अनि भयो उनको संगठनात्मक राजनीतिक यात्राको सुरुआत् ।
मोबाईलमा पैसा रहुञ्जेल कल गरि रहने छु
मगर विद्यार्थी संघको इकाई समिति अध्यक्ष भएपछि विद्यार्थी संघको जिल्लामा समेत उनको चर्चा र सम्पर्क बढ्यो । उनले भनिन् मगर विद्यार्थी संघको जिल्ला कार्यसमितिमा समेत म सदस्य भएँ । अनि त्यही भेट भयो त्यो मान्छेसंग । उसले लिलालाई प्रायःजसो फोन गरि रहँदो रहेछ । फोनबाटै उनीहरुको मित्रता घनिष्ठ हुँदै गयो । लिला लालमटिया छोडेर बुटवल आउँदा त्यो मान्छे पढ्न काठमाण्डौं पुगि सकेको रहेछ ।
लिलाको क्षमता र सिर्जनशीलता अनि आँट एवम् हिम्मतिलो व्यवहार देखेर त्यो मान्छेले फोन गरि रहँदो रहेछ । तर लिलाले कुरा सुन्नेमात्र अर्थात् कहिले पनि फोन नगर्ने चलन उतातिर त्यो मान्छेलाई ।
एकदिन उनले त्यो मान्छेलाई आफ्नै घर प्युठानबाट फोन गरिन् लिलाले । त्यो मान्छेलाई लिलाले फोन गरेको पहिलो पटक रहेछ त्यो । करिव आठ मिनेट अखण्ड मोबाईल गरेपछि त्यो मान्छेले भनेछ पैसा भ्याइयो होला मोबाईल राख लिला ।
खै ! लिलालाई त्यो मान्छेको त्यो वाक्यले किन झोंक चलायो थाहा भएन तर उनले भनेकी रहेछिन्– मोबाईलमा पैसा रहुञ्जेल कल गरि रहने छु । यसो भनि रहँदा लिलाले फेन्टाले भरिएको गिलासमा आईस प्याक राखिन् र चुप्प चुस्की लिइन् ।
अधुरो सपना
सपना सबैका पूरा हुँदैनन् । अधुरा सपनाका थैला बोकेर जीवनको यात्रामा हिडि रहने एउटी यात्री हुन् लिला पनि । उनको स्टाफ नर्स बन्ने सपना रहेछ तर त्यो यसै अधुरो बनेकै कारण उनले अधुरो सपना नामक गजल संग्रह छापेकी रहेछिन् । सो पुस्तक बेचेर उनले पकेट खर्च चलाएको कुराले मनमा एउटा नयाँ झिल्का थपिन्थ्यो ।
पुस्तक प्रकाशकका रुपमा उनले आफ्ना आमाबाबाका नाम राखेका छन् । पुस्तक प्रकाशनका लागि आमालाई उनले खुब फकाइएकी रहेछिन् । आमाले छोरीको सिर्जनधर्मलाई सबैका माझ पुराउने जुन आँट थपिदिइन् त्यो लायककै छ ।
इमेलका कुरा
उनलाई मगरात भन्ने मासिक पत्रिकाको बजार प्रतिनिधि बन्न त्यस पत्रिकाका सम्पादक खोमा तरामूले फोन गरेका रहेछन् । पहिलो पटक ल्याण्डलाईनबाट फोन आउँदा आफ्नो मोबाइलमा उनी अति हर्षित भएकी रहेछिन् ।
लिलाले पत्रिकाबाट मासिक तीन हजार पाँच सय पाउने भएपछि आफ्नो स्नातकको पढाईलाई समेत दौडाइन् । स्नातक उनले बुटवल बहुमुखी क्याम्पसमा पढिन । पाएको पैसाले डेरा,खाना,पढाई खर्च अनि बचेको पैसा आमाबाबालाई पठाउँथिन् उनी ।
एकदिन गोविन्द र खोमाले लिलालाई सोधेछन्– ईमेल चलाउन आउँछ ? तर उनलाई ईमेल कुन चराको नाम हो थाहै रहेनछ । तैपनि टाउको हल्लाइन् र भनिन् हल्का थाहा छ ।
पछि उनले साथीहरुसंग धेरै दिन लगाएर सिकेकी रहेछिन् ईमेल चलाउन ।
अन्तिममा
घडीमा साँझको पाँच बज्दै थियो । हामीहरुमध्ये हरि पौडेल,मीन राना र म बुटवल मिलनचौकमा रहेको बी इलेभेन रेष्टूरेण्टमा पुगि सकेका थियौं । एकैछिनको पर्खाइपछि गिरि दाइ आइ पुगे । रामचन्द्र र शंकर पनि टुप्लुक्कआइ पुगे ।
अन्तिममा आइपुगिन कार्यक्रमको हिरो लिला राना । उनले आफू जापान जानु अघि साहित्यिक भेटघाट गरेकी हुन् शनिवारको साँझ । कार्यक्रममा दीपक विक लगायतका उल्लेखित हामीहरु थियौं ।
लिलाले बढो उत्साह र आँटका साथ आफ्ना विगतका साहसी कथा सुनाइ रहँदा हामीहरुलाई जुरुक्क उचालेको थियो । मैले त लिलाको जीवनको संघर्षमय कथा सुनेपछि यी अक्षरहको पाँजो लगाएर शब्द र वाक्यको मेलो सारें । मलाई लिलाप्रति सम्मान जाग्यो । इन्सेटमा तारा मिलन,जयन्ती सरगमका कुराहरु पनि आएका थिए ।
उनको जापान यात्रा सुखमय बनोस् र जापानबाट आउँदा साहित्यिक कोशेली स्वरुप शब्द बुनेर पुस्तक ल्याऊन् यही शुभेच्छा लिला ।
आखिरमा उनले विएसंगै विहे समेत गरिन् त्यो मान्छेसंग ।
त्यो मान्छे रुकुमको रहेछ । गएको माघमा लिलालाई त्यो मान्छेले आफ्नो बनाएको रहेछ र आज जापान आउन निम्तो पठाएको रहेछ ।
थाहा भो अन्तिममा त्यो लिलाको मान्छे कोही नभएर लोकेन्द्र बाठामगर रहेछ ।
उनीहरुको जीवन सुखमय रहोस् । सन्तानका आमाबाबा बन्ने अवसर पाऊन दुबैले ।

गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया