
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा सुरु भएको छ । शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले लाखौँ कार्यकर्ताका बीचमा महाधिवेशनको उद्घाटन गरेका छन् । करिब दुई महिनाअघि विधान महाधिवेशन गराएका ओलीले यतिबेला पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनस्थलको चयन भने चितवननै गरेका छन् । उद्घाटन समारोहमा ओलीले आफू सरकारमा हुँदा गरेको उपलव्धिको चर्चादेखि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत गाली गर्न भ्याए। उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई अतिथि बनाएर बोलाएकाले टिप्पणी नगर्ने भन्दै माधवकुमार नेपाल र प्रचण्डले काम गर्न खुट्टा समाउने तर्क गरेका छन् । यस्तै उनले जल, समुद्र तथा अन्तरिक्षमासमेत नेपालको दाबी रहने भन्दै अब नेपालमा स्याटलाइटको माध्यमबाट काम हुने उल्लेख गरे । साथै छिमेकी राष्ट्रसँग सम्बन्ध सुधार गर्ने भन्दै उनले समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्ने काम एमालेले मात्र गर्न सक्नेब बताए ।
अन्तरिक्ष पनि हाम्रो हो
उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले अन्तरिक्ष नेपालको भएको उल्लेख गरे । उनले जापानको सहयोगमा पठाइएको नानो स्टलाइटको उपलव्धितर्फ संकेत गर्दै साना भुउपग्रह यसअघि नै पठाइसकिएको भन्दै उनले अब ठूलो भुउपग्रह पठाउने बताए । ओलीले अब देशका कामहरु स्याटलाइटको माध्यमबाट पनि हुने बताए । “समुद्रमा सानो भुउपग्रह पठाइसक्यो, अब ठूलो पठाउँछौं, अब अन्तरिक्ष पनि हाम्रो हो, दाबी गर्छौँ,” उनले भने । आफ्नो सरकारले अन्तरक्षिमा ठाउँ सुरक्षित गरेको पनि बताए । “समुन्द्र पनि हाम्रो हो, अन्तरिक्ष पनि हाम्रो हो,” उनले भने ।
प्रचण्डलाई सुझावः हसिया हथौडा छाडे हुन्छ
उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हसिया हथौडा छोड्न सुझाव दिए । उनले हसिया हथौडा बोकेर बामपन्थी सरकार ढाल्नेले हसिया हथौडा बोक्न उचित नहुने बताए । उनले दशौँ हजार माओवादी लडाकुहरुलाई महाधिवेशन पश्चात् पार्टीमा प्रवेश गराउने बताए । ओलीले प्रचण्ड सरकारमा हुँदा पनि शान्ति प्रकृया किन टुंगो लगाउन नसकेको भन्दै प्रश्न गरे ।
देश निर्माण गर्न एकल बहुमत
अध्यक्ष ओलीले पार्टी तीन तहको चुनावको तयारीमा लागेको बताएका छन् । उनले आसन्न चुनावबाट देशका लागि र देश बनाउनका लागि एकल बहुमत ल्याउने बताए । उनले आफूले गरेको संसद विघटन गरेको सहि भएको तथ्य पनि प्रस्तुत गरे । अध्यादेश, परमादेशबाट सरकार फेरिने अस्वस्थ असंवैधानिक संस्कार बसेको भन्दै उनले आफूहरुले जनादेशमा जान आग्रह गर्दा अरु राजनीतिक दल त्रसित भएको बताए ।कार्यकर्ताहरुलाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा काम गर्न चाहे पनि सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र समाजवादी पार्टीले काम गर्न नदिने दाबी गरे । यो भनिरहँदा देउवा मञ्चमै थिए ।
सरकारलाई परमादेशको सरकार भन्दै आलेचना गरेका ओलीले प्रधानमन्त्रीका विषयमा भने अतिथि बनाएर आलोचना गर्नु बान्छनीय नहुने बताए । “प्रधानमन्त्रीलाई अतिथि बनाएर आलोचना गर्नु बाञ्छनीय नहोला,” ओलीले भने, “प्रधानमन्त्री केही गर्न चाहनुहुन्थ्यो सायद ! तर, उहाँसँग भएकाहरुले काम गर्न दिँदैनन् ।”प्रचण्ड र माधव नेपालतर्फ लक्षित गर्दै उनले एमालेको सरकारलाई काम गर्न नदिएका उनीहरुले प्रधानमन्त्री देउवालाई पनि काम गर्न नदिने बताए ।अध्यक्ष ओलीले ओलीले छिमेकी देश भारतसँग संवाद गरेर सम्बन्ध सुधार गर्ने घोषणा गरे । उनले छिमेकी देश भारतसँग सम्बन्ध विग्रिएको संकेत गर्दै त्यसलाई संवादको माध्यमबाट हल गर्ने बताए । लिम्पियाधुरा लिपुलेकलगायत भारतले मिचेको नेपालको भूमि बनाएर नक्सा छापेको र त्यसलाई संविधानमा पनि छापेको भन्दै छिमेकी मुलुकसँग सम्बन्ध विग्रिएको तर्फ उनको संकेत थियो ।
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया