चिदीपानी गाउँ पाल्पा जिल्लाको सदरमुकाम तानसेनबाट दूरीको हिसावले खासै टाढा नभएपनि भूगोलको हिसावले टाढा मानिन्छ । हालको माथागढी १ चिदीपानी,बुद्धिकोट गाउँमा जन्मि हुर्किएकी रमा घर्तिको १६ वर्षको उमेरमा माथागढीको रुप्से दद्रा गाउँमा विहे भयो । विहेपछि उनको बुहार्तन सुरु भयो । घरधन्दा गर्दै आफ्नो उर्वर उमेर वित्दै गयो । दुई सन्तानकी आमा रमा घर्ति बाबुआमाकी जेठी छोरी थिइन् । त्यसैले पनि होला घरधन्दा उनको पेवा बनेको अनि बिहेपनि छिट्टै । खेतीकिसानी उनको मुख्य कर्म बन्यो । सामाजिक क्षेत्रमा समेत सुस्तरी प्रवेश गरिन् । सामाजिक क्षेत्रले उनलाई राजनीतिमा लाग्ने प्रेरणा दियो । सामाजिक न्याय,वर्गीय विभेद,उत्पीडन र समावेशी एवम् समानताको लागि उनी लडि रहिन् । निरन्तर सामाजिक एवम् राजनीतिक खटाईले उनलाई बलियो बनाउँदै लग्यो । राजनीतिमा समेत दरो पाइला टेकिन र बनिन प्रदेश नम्बर पाँचकी प्रदेश सभाका समानुपातिक माननीय । माननीय उनका लागि गौरव र गहुँगो विषय बनेको छ । कामको मूल्यांकनले गौरव दिएको छ भने नागरिकका मागहरु सम्बोधन हुँदैन कि भनेर मनमा गहुँगो भारी बनि रहेको छ । माननीय रमा घर्तिलाई उनको पार्टीले अल्पसंख्यक जातिको रुपबाट मनोनित गरेको हो । समाजमा उनको घर्ति अर्थात् भुजेल जातिलाई अल्पसंख्यक जातिको रुपमा लिने गरिन्छ । सांसद् बनेर पनि उनलाई आफ्नो घरको कामले सुख दिन सकेको छैन । गोठभरि उन्नतखाले गाईहरुले आङ् तानेकै छन् । गोबर,सोत्तर उनको सभामा आउनु पर्ने दिन बाहेक दैनिक बनेकै छ । डेरिमा दूध बेच्न जाँदा छिमेकीहरुले माननीय पनि डेरीमा भनेर हल्का रमाईलो गर्छन् । तर रमाले गाई पाल्नु र दूध बेच्न जाने कामलाई आफ्नो आम्दानी र उदाहरणीय काम ठान्दछिन् । रमा रमाउँदै आफ्ना आयमुखी कामलाई निरन्तरता दिदैं छिन् र प्रदेशसभामा दरो विचार राख्न सक्छिन् । रमाका रहर लाग्दा कामहरुको अरुले पनि सिको गर्न सके उत्तम हुने थियो कि !
प्रतिक्रिया