अतिक्रमण भएको जग्गामा बुटवल उपमहानगरपालिकाले ट्रान्सपोर्ट भिलेज बनाउने (भिडियो)
admin
२०७५ बैशाख ३१, सोमबार १६:१७
बुटवल– १२ भैरहवा टोलमा पवित्र युवा क्लबले डेढ दशकदेखि संरक्षण गर्दै आएको ५४ बिघा जग्गा सुकुम्बासीका नाममा अतिक्रमण भएपछि उपमहानगरपालिकाले प्रहरी प्रशासन र स्थानीयको सहयोग लिएर पुनः संरक्षणका गरी ट्रान्सपोर्ट भिलेज बनाउन नाप जाँच थालेको हो । पवित्र युवा क्लबले खेल मैदानसहित तारबार गरेर संरक्षण गरेको जग्गामा अहिले २५ परिवारले घर बनाएर अतिक्रमण गरेका छन् । अतिक्रमित जग्गा नापजाँचपछि सार्वजनिक जग्गा प्रमाणित भएमा अतिक्रमणकारीहरुलाई कानुन अनुसार हटाइने र त्यहाँ ट्रान्सपोर्ट भिलेज बनाउने योजना रहेको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताउनुभयो ।
‘पहिलो चरणमा ८ बिघा १० कठ्ठा जग्गा नापजाँच गर्छौं र सार्जजनिक जग्गा हो भन्ने पुष्टी भएपछि ट्रान्सपोर्ट भिलेज बनाउने काम थाल्छौं’, उपमहानगर उप प्रमुख गुमादेवी आचार्यले बताउनुभयो । ‘अतिक्रमण गरेर बसेकालाई सार्वजनिक जग्गा रहेछ भन्ने देखाएर चित्त बुझाउन नापजाँच थालेका हौं ।’
अतिक्रमण गरेर बसेका परिवारलाई निश्चित समय दिएर जग्गा खाली गर्न आग्रह गरिने र अटेर गरेमा कानुन अनुसार उपमहानगरपालिकाले जग्गा खाली गराउने उपमहानगर कार्यपालिका सदस्य रञ्जित शेरचनले बताउनुभयो ।
पवित्र युवा क्लबका पूर्वअध्यक्ष गोपाल पाण्डेले उक्त सार्वजनिक जग्गाको संरक्षण गरेको क्लब र स्थानीय भैरहवा टोलबासीलाई साथमा लिएर सहकार्य गरेर संरक्षण र अन्य पुर्वाधार निर्माणको काम गर्नुपर्ने सुझाए ।
उपमहानगरपालिकाले ३ बिघा १० कठ्ठा क्षेत्रफलमा ट्रक लगायतका ढुवानीका सवारी साधनहरु पार्किङ गर्ने गरी ट्रान्सपोर्ट भिलेज बनाउन थालेको छ । ट्रान्सपोर्ट भिलेज नहुँदा बुटवल बजारमा सामान ढुवानी गर्न आवतजावत गर्ने ट्रकलगायतका साधनले ट्राफिक जाम र बजारलाई नै अस्तव्यवस्त बनाउने गरेका छन् ।
प्रतिक्रिया