बुटवल उपमहानगरमा बस्यो न्यायीक समितिको प्रथम इजलास (भिडियो)
admin
२०७५ बैशाख ३१, सोमबार १४:२२
बुटवल उपमहानगरमा बस्यो न्यायीक समितिको प्रथम इजलास -कार्यविधि तयार, पारिवारिक विवाद र घरबहालका धेरै
बुटवल, बैशाख ३१ । बुटवल उपमहानगरपालिका न्यायीक समितिको प्रथम इजलास बस्यो । समितिको कार्यविधि तयार भएपछि सोमबार प्रथम इजलास बसेको हो । सोमबारको इजलासमा हिंसा पीडित भएको भन्दै दर्ता भएको एकजना पुरुषको मुद्दा पेश भएको छ । सोमबार अन्तरिम आदेश छलफलका लागि पेशी तारेख तोकिएको थियो । सोही मुद्दामा स्थानीय सरकार सञ्चालन एेन,२०७४ को दफा ४९ (८) (क) न्यायीक समितिका संयोजक गुमादेवी आचार्यको इजलासले दुबै पक्षलाई पुनः छलफलका लागि झिकाएको छ । निवेदन जिकिर अनुसार तत्काल अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने सम्बन्धमा विचार गर्दा दुवै पक्षलाई झिकाउने भन्दै आउदो जेठ ७ गतेका लागि पेशी तारिक तोक्नुभएको छ । उपमहानगरपालिकाको न्यायीक समितिले हालसम्म २५ थान मुद्दा दर्ता भएका छन् । जसमध्ये १७ वटा मुद्दा मेलमिलापका माध्यमबाट निरुपण गरिएको उपप्रमुख आचार्यले जानकारी दिनुभयो । पतीपत्नीका बीच विवाद, लेनदेन, नाता सम्बन्ध कायम, जग्गा विवाद,घरबहाल सम्बन्धी र घरेलु हिंसाका विषयहरु दर्ता भएको अधिकृत कल्पना अर्यालले जानकारी दिनुभयो । उपमहानगरपालिकाले कार्यविधि बनाउनु अघि वडा समिति मार्फत मेलमिलाप बाट एक सय ३५ मुद्दाको निरुपण गरेको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो । ती मध्ये सम्बन्ध बिच्छेद सम्बन्धी तीन मुद्दालाई जिल्ला अदालतमा पठाइएको उपप्रमुख आचार्यले जानकारी दिनुभएको छ । कार्यविधि तयार भएपछि भने न्यायीक समितिमा ८ थान मुद्दा दर्ता भएका छन् । जसमा घरवहाल सम्झौता सम्बन्धी, सम्बन्ध बिच्छेद , खान लाउन घर बस्न अधिकार दिलाइ पाउँ भन्ने रहेको आचार्यले बताउनुभयो ।
प्रतिक्रिया