रुपन्देही जिल्लाको सदरमुकाम भैरहवाबाट पश्चिमतिर लुम्बिनी जाने बाटोमा बेथरी बजार पर्दछ । यो ग्रामीण बजार पनि हो । सोही स्थानबाट नहरै नहर उत्तरतिर हुँइकिदा मैनहिया गाउँ पुगिन्छ । सो गाउँ सियारी गाउँपालिकाको वडा नं.२ मा पर्छ । यो गाउँमा थारु जातिको बसोबास बढी नै छ । त्यही गाउँमा बस्छन् सय वर्ष पुग्दै गरेका साधुसरन थारु । नागरिता सय बढी उमेर लेखिएता पनि उनी यो वर्ष सय वर्ष पुग्दै छन् । हेर्दै रहर लाग्दा, हट्टा कट्टा कुरा राम्ररी सुन्न सक्ने,स्पष्ट बोल्न सक्ने र अरुलाई सजिलै चिन्न सक्ने सरल ब्यक्तित्व अर्थात शताब्दी पुरुष साधुसरन । दुई श्रीमती विहे गरेका । जेठी श्रीमतीको अवसानपछि कान्छी श्रीमती ल्याएका साधुसरन बोल्न पनि रसिला बोल्दा रहेछन् । चार छोरा अनि एक छोरीका पिता साधुराम हँसिला र खुसी देखिन्छन् । शरीरमा कुनै पनि रोग नभएका उनी स्वच्छ खानपान र शारीरिक कसरतले नै तन्दुरुस्त छन् । दैनिक एक लिटर दूघ पिउँदै आएका साधुसरनले पशुपालन र कृषिबाट जीवन निर्वाह गर्दै आएका छन् । उनका छोरा अयोध्या थारु सियारी गाउँपालिकाका अध्यक्ष समेत छन् । छोरालाई उनले प्रधान भनी सम्बोधन गर्दै थिए । प्रधानका पिता हुन पाउँदा खुसी छन् साधुसरन । अयोध्या थारु भन्छन्–बाबाको सकारात्मक सोच,हक्की प्रवृत्ति,सामाजिक क्रियाशीलताले दीर्घजीवी भएका हुन् । बोल्नमा उस्तै टाठा साधुसरनलाई गाउँमा नचिन्ने को पो होलान् र ?
प्रतिक्रिया