(प्रसंग सिद्धार्थ साहित्य परिषद्, भैरहवाको कविता प्रतियोगितामा प्रथम हुँदा)
सम्भवत २०५७ को लक्ष्मीपूजाको दिन थियो । भैरहवामा रहेको सिद्धार्थ साहित्य परिषदले लक्ष्मीजयन्तीको अवसरमा कविता प्रतियोगिता आयोजना गरेको थियो । प्रमुख अतिथि थिए कविवर रामचन्द्र भट्टराई । त्यतिबेला उनी राष्ट्रिय सभाका सदस्य अर्थात् माननीय थिए जस्तो लाग्छ ।
कविता प्रतियोगिता सम्पन्न भयो । मेरो ‘रेक्सा’ कविताले प्रथम भएवापत नगद सय सयको सातवटा सयको नोट प्राप्त गरेको थियो र प्रमाण–पत्र समेत । संयोगले कार्तिक २९ गते शनिवार आजै लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती परेको छ । नगद पुरस्कार थापेर आउँदा रात परिसकेको थियो । बुटवलको बस स्टेशनमा प्रमुख अतिथि र म ओर्लिएर रेक्सा चढेका थियौं । म जेसीस चोक झरें र उनलाई उही रेक्सामा चढाएर चिडियाखोला उनकै निवासतर्फ रेक्साचालकका हातमा आवश्यक सेवा शुल्क दिएर पठाएको आजै जस्तै लाग्दैछ ।
लक्ष्मीपूजाको रात । पुरस्कार स्वरुप पाएको सातवटा गैंडा अर्थात् सात सय रुपैयाँ लक्ष्मीपूजा गर्नलाई आमालाई दिएँ । आमा पनि छोरोको पौरख पूजा गर्न गर्न पाउँदा पुलकित नहुने कुरै भएन । जीवनमा पुरस्कार थुप्रै थापियो तर त्यो पुरस्कारको किन हो किन सम्झनामा अति आइरहन्छ । आमाले पछिसम्म त्यो पुरस्कार पूजा गर्दै आइकी थिइन् । त्यो कुराले पुरस्कारलाई अझ ओजिलो बनाएको महसुस हुन्थ्यो मलाई ।
मैले खास सम्झिएको कुरा अर्कै थियो । पुरस्कार पाएपछि धेरैले कार्यक्रम हलमा नै बधाई दिए । आयोजकले पूmलको माला लगाई दिए । टीका लगाई दिए । खुसी लाग्यो । सिद्धार्थ साहित्य परिषद,भैरहवाप्रति अनुगृहित भइरहेको छु आजसम्म । तैपनि प्रमुख अतिथिले भनेको एउटा कुरा याद आइरहन्छ । भुल्नै सकेको छैन । उनले प्रमुख अतिथिको आशनबाट भनेका थिए–एउटा गुरुङको छोरो कविता लेखेर आज लक्ष्मीजयन्तीमा प्रथम हुन सक्यो । यो गौरवको विषय हो ।
उनका कुरालाई समर्थन गरेर धेरैले थपडी मारे । मलाई पनि धेरैले धाप मारे । भैरहवाबाट बुटवल आउँदासम्म प्रमुख अतिथि र म बसको एउटै सीटमा बसेर आएका थियौं । मलाई खसखस लागेर उनलाई नम्रतपूर्वक सोधें–कविज्यू ! आज तपाइँको भाषण सुनेर म भावुक भएँ । उनले झट्टै प्रश्न सोधे – तिम्लाई त्यस्तो के लाग्यो ? मैले सुस्तरी भनें–कविज्यू एउटा गुरुङको छोरो कवि बन्न हुन्थेन वा उ प्रथम हुनु अभिसाप हो र ? साहित्यमा जातीयता हुन्छ र ? तपाइँ त झन् वर्गीय आन्दोलनबाट खारिएर आएको कवि,साहित्यकार,बामपन्थी नेता,माननीयले त्यस्तो मञ्चमा त्यस्तो कुरा गर्न शोभनीय हुन्थ्यो र ?
उनले निशंकोच भने–एउटा गुरुङको छोरो भएर पनि दलबहादुरमा कवित्व भावना छ । उसमा कविपन छ । साहित्यमा सबै जातीलाई समावेश गर्नुपर्छ । समावेशीता नै साहित्यको आवश्यकता हो ।
मैले अरु कुरा केही गरिन । उनीसँग थप कुरा गर्ने हिम्मत समेत थिएन मेरो । उनले राम्रै ठानेर भनेका रहेछन् झैं लाग्यो । कवितामा भनेर पाएको पुरस्कार र प्रमाण–पत्र नै काफी थियो मलाई ।
जीवनमा म कहिलेपनि जातीय राजनीति र संगठनमा रहिन । रहने पनि छैन । वर्गीय समाजमा जातीय नाराले समस्याको समाधान हुन सक्दैन । समाज वर्गीय छ । हुने खाने र हुँदा खाने । सभ्रान्त र दुःखी । शासक र शोषित । जबसम्म हाम्रो समाज वर्गविहीन बन्दैन तबसम्म समाजमा समानता पक्कै प्राप्त हुने छैन । मैले समाजबाट सिकेको ज्ञान यही हो ।
साहित्यमा वर्ग पक्षधरता हुने गर्छ । समाज नै वर्गविभक्त छ भने यहाँ रहेका हरेक कुरा वा पक्षहरु वर्गीय हुन्छन् भन्ने कुरालाई भुल्नु हुँदैन । सबैले आफ्नै वर्गको पक्षपोषण गर्नु उसको आफ्नो नैतिक चरित्र नै हो ।
आजसम्म वर्गीय पक्षधरतामा विश्वास गर्दै आफ्नै वर्गका पक्षमा कलम चलाउँदै आएको छु । यो मेरो लेखन धर्मिता हो । मलाई गुरुङको छोरो भएर कवि भएको,पुरस्कृत भएको र आफ्नो जातीय पहिचान दिन सकेकोमाभन्दा पनि म आफू वर्गीय आन्दोलनबाट आएको कवि मन हुँ । साहित्य रुचाउने मान्छे हुँ । मेरै वर्गको वकालत गर्ने वर्गीय लेखक बन्न सकुँ । यसैमा म पुलकित हुने छु ।
कमला ितवारी सोमबार ०२ माघ, २०७९ आइतबार भएको विमान दुर्घटनामा सरकारले शोकमा बिदा दिएपनि आज बैंकिङ सेवा भने खुला रहेको…
प्रतिक्रिया