मनीषले फोन गर्दा म प्रदेश नं.५ को उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयमा मन्त्री लीला गिरीलाई भेट्न उनको स्वकीय सचिव ईश्वरी ज्ञवालीसँग कुरा गर्दै थिएँ । मनीषले भने–सर तपाइँ कहाँ हुनुहुन्छ ? अहिले विहान ११.४५ बजे तेजू अर्यालको म्यूजिक भिडियोको सार्वजनिक कार्यक्रम छ आउनुस है ।
एकछिन मन्त्रीसँग कुरोकानी गरें । म श्रीनगर अनलाइनको अफिसमा पुग्दा ११.४० बजिसकेको थियो । दशै/तिहारको उपलक्ष्यमा श्रीनगर फिल्मस् प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण गरिएको छोरा आउँछ कि नामक म्यूजिक भिडियोको सार्वजनिक गर्न मलाई उनले अनुरोध गरे । मैले कम्प्यूटरमा क्लिक गरें । संसारभर एकैपटक हेर्न मिल्ने भयो । अर्थात् गीत रिलिज भयो । तेजू,हरि लगायका साथीहरुले आफ्नो फेसबुक वालमा शेयर गरे । उनीहरुले आफ्ना साथीहरुलाई मेसेन्जरमा पठाए ।
मैले प्रमुख अतिथि भएर उक्त म्यूजिक भिडियोको सार्वजनिक गरिरहँदा मनमा अनेक प्रश्नहरु खेलिरहे । दशैं तिहारको प्रसंगको गीत । एकोहोरो हेरिरहें । करिव १२ मिनेटको उक्त गीत हेरिरहँदा,सुनिरहँदा आँखा रसाए । भावुक भयो मन । दृश्यहरु खुब घोरिएर हेरें । रुपन्देहीको देवदह मूढाबास गाउँमा खिचिएका घरखेत,बाटो,गाउँले परिवेशले मन तानिरह्यो । पाका पुुराना तथा नयाँ कलाकारको कलाकारिताले मनमा उमंग छायो । गीत उस्तै सेन्टी । भूमिका बेजोड । अभिनयले मेरो मन आकर्षित गरिरह्यो ।
तेजू अर्यालको शब्द,संगीत र श्वरमा नयाँ गायक हरि बिकको श्वर थपिएको उक्त गीतले दशै,तिहारको संकेत गरिरहेको थियो । मीठो श्वर,कलाकारको उस्तै प्रस्तुतीले एकछिन मननै थाम्न सकिन । नरुनु भन्दै आफै रोएको शब्द र दृश्यले अति भावुक गरायो ।
दशैं नमानेको मैले थुपै्र वर्ष भयो । म विदेशमा भएर होइन । कुनै जाति,धर्मका कारणले होइन । स्वदेशमै रहेर पनि देशमा अशान्ति,पीडाका श्वर सुन्न र दृश्यहरु हेर्नु परेको कारुणिक कथाले मैले दशैंमा टीका लगाउन छाडेको हुँ । द्वन्द्वकालीन परिवेशमा देशभित्रका आफ्ना दाजुभाइहरुकाबीच भएको काटमार र हिंसाले मनै खिन्न बनाएको थियो । विदेश जाने र परिवन्दमा फसेर विदेशका जेलमा नारकीय जीवन जिउनु परेका नेपालीका कथा कस्तो होला ? ऋणधन गरेर गएकाहरुका जीवन र घरका परिवारले साहुका ऋण तिर्न नसक्दा घरबास हुनु परेको दुःखद् घटना आजको मात्र कथा होइन । सदियौंदेखि नेपालीहरुले भोगेको,झेलेको सत्य तर तीतो कथा हो ,अवस्था हो । यही विषय रहेछ गीतमा ।
हामी राणाकालीन समयमा रैती थियौं । २००७ मा प्रजातन्त्र आएपछि प्रजा भयौं । २०४६ को आन्दोलनपछि हामी जनता भयौं तर संघीय लोकतान्त्रिक गणतन्त्रमा समेत हामी नागरिक हुन सकिरहेका छैनौं । परदेशमा तातो हावा खानुपर्ने बाध्यकारी अवस्था कसरी सिर्जना भयो ? किन रोकिदैन विदेशी भूमिमा रोजगारका लागि जानु पर्ने अवस्था ? परदेश जानु रहर हो वा बाध्यता ? गीतले यही प्रश्न गरिहेको छ तर समाधान दिएको छैन ।
मैले त भन्छु हाम्रा गीत,संगीतले अब हामीलाई समृद्धिका बाटा देखाउनु पर्छ । स्वदेशमै रोजगार र स्वरोजगारका अवस्था सिर्जना गर्ने वातावरण तयार गर्नुपर्छ । भावनाले अब देश चल्दैन । गास चल्दैन । त्यसका लागि कर्मठ नेपाली बनेर उद्यमशीलतामा जोड दिनुपर्छ । हाम्रा गीतसंगीतले उद्यमशीलतालाई जोडेको हुनुपर्छ । उत्पादनमुखी जीवन बनाउने अभ्यास गर्नुपर्छ ।
मुढाबासलाई पर्यटकीय गन्तव्य बनाउनका लागि मनीषको क्यामेराले काम गरेको छ । स्थानीय युवाहरुलाई गाउँको विकासमा कम्मर कस्न सिकाउनु पर्छ । स्थानीय उत्पादनलाई विक्री गर्न गाउँमै होमस्टे सञ्चालन गर्दै आम्दानीमुखी क्रियाकलापमा जोड दिनुपर्छ । स्थानीय सरकारले गाउँलेहरुका लागि समृद्धिका प्याकेजहरु दिनुपर्छ ।
गीतमा कलाकारले गीतलाई न्याय गरेका छन् । सबै उमेरका कलाकार छन् । कलाकारमा बनावटी कुनै कला छैन । बरु उनीहरुका कलाले मन नै हरक्क बनाउँछन् ।
दशै,तिहारमा परदेश गएका,घरमा नआउँदाको पीडा कस्तो हुन्छ गीत हेरे,सुने पुग्छ । यी दिनहरुका अन्त्य कहिले होलान् ? मनीषको निर्देशनमा निर्माण भएको गीतले नयाँपन दिनुपर्छ अब ।
सधैंभरि आँसु झार्ने होइन बरु आँसु नै झार्नु नपर्ने गीत र दिन कहिले आउला ? समृद्धिको अवस्था देशमा कहिले आउला ? मलाई लाग्छ –गीत,संगीत समाजको प्रतिविम्व हो । समाजका घटना नै गीत र संगीतमा झल्किन्छ । हामीले आफ्नो अनुहार सफा गर्न सकेनौं तर ऐना पुछिरह्यौं । अब ऐनामात्र होइन हाम्रै अनुहार सफा गर्ने दिन आइसकेको छ । हाम्रा गीत,संगीतले हामीलाई आफ्नै भूमिमा पसिना चुहाउने,श्रम गर्ने संस्कारको विकास गर्नुपर्छ ।
माटोलाई माया गर्ने,पसिनाको स्वादलाई सम्मान गर्ने र देशभक्तिपूर्ण भावनालाई समेटेर अब तेजूले गीत,संगीत भर्नुपर्छ । मनीषले नयाँपन दिनुपर्छ । यो म्यूजिक भिडियोले यही सन्देश र जिम्मेवारी उनीहरुमा थपेको छ ।
कमला ितवारी सोमबार ०२ माघ, २०७९ आइतबार भएको विमान दुर्घटनामा सरकारले शोकमा बिदा दिएपनि आज बैंकिङ सेवा भने खुला रहेको…
प्रतिक्रिया