हिमाल पारिको जिल्ला मुस्ताङ । त्यसैमा सुन्दर गाउँ टुकुचे । उसै शित्तल हावापानी । मनोरम,स्वर्गीय आनन्दको भूमि । जो कोहीलाई आफूतिर तानेर छाड्छ । भू–स्वर्ग । धेरैले भूपी शेरचनको जन्मभूमि भनेर मुस्ताङलाई चिन्दछन् । उनका कवितामा टुकुचे,लेते खोला,एक्लेभट्टी,कागबेनी पढ्न पाइन्छन् । मुक्तिनाथको महिमा सबैले सुनेकै हो । सोही ठाउँमा जन्मिएर बाबा आमासहित नै पाल्पाको मस्याममा पर्ने हटिया गाउँमा बसाइँ गर्न आइपुगेकी थिइन् चम्पा थकाली । उनलाई मुस्ताङको टुकुचेले अल्झाइ रहन सकेन । जोमसोमको हावाले छेक्न सकेन । आफू १२ वर्षकी हुँदा आमाबाबा गुमाइन् । भाइ गोपाल थिए सहारा ।
मुस्ताङ मुहार फेर्ने ठाउँ हो । जीवनका नयाँ आयाम बोकेको स्याउ र जिम्मू( नेपालको मुस्ताङमा पाइने एक किसिमको घाँस,यो घाँस नेपालमा बाहेक अरु देशमा पाइदैन । ) ले संसार चिनाएको ठाउँ हो । मुस्ताङका थकाली संसारका धेरै ठाउँमा पुगेका छन् । विशेष गरी थकाली होटलमा पाइने थकाली खानाले सबैका मुख स्वादिलो र जिभ्रो मै झुण्डाएको छ भन्दा फरक नपर्ला ।
चम्पा थकाली उमेरले ८० वर्ष पुगिन् तर उनको जोश,जाँगर र क्रियाशीलता हेर्दा १८ वर्षे लाग्छ । उनलाई थकाई कुन चरीको नाम हो थाहा छैन । पाल्पा केराबारीमा उनले थकाली भान्सा घर सञ्चालन गरेको ५०/५५ वर्ष नाघ्यो । केराबारीमा होटल सञ्चालनको सुरुआत् गर्ने नै उनी लगायतका हुन् । आजपनि थकाली भान्सा घरमा आफ्नो पौरख गरेकी छिन् । तीन छोरी र एक छोरोकी आमा चम्पालाई अबेर निद्रा लाग्छ र सबेरै छाड्छ निदले ।
नेपाली फिल्महरु हेर्न मन पराउँछिन् । हिन्दी टेली सिरियलले उनका मन तानिरहन्छन् । खाना पकाउने जाँगर र रुचीमा कुनै कमी छैन तर खाने कुरामा उनको कुनै स्पेशल छनौट छैन । खानामा कहिले पनि दोष देखाउँदिनन् । आफ्नो भागमा आएपछि मीठो मानीमानी खाने उनको बानीले नै आजसम्म कुनै त्यस्ता दीर्घरोगहरुले सताएका छैनन् ।
टाठी छिन् । स्कूलको अनुहार देख्न नपाएपनि आफ्ना नाम लेख्न सजिलै सक्छिन् । हरहिसाब गर्न जानेकी छिन् । बोली व्यवहार मिठो छ । सन्तोष जस्तो छोरो र सन्तोषी जस्ती बुहारी पाएपछि उनी उसै खुसी,सुखी छिन् ।
चम्पाले श्रीमानसँगको विछोडका ३५ वर्ष आफ्ना सन्तान हेरेर मन बुझाएकी छिन् । छोराबुहारी,छोरीज्वाइँ,नातीनतिनाका खुसीमा आफूलाई भुलाउने मात्र होइन अहिले पनि होटलमा खाना खान आउने पाहुनाहरुलाई खाना पकाउने,पस्केर दिने र हार्दिकतापूर्ण स्वागत एवम् बिदाई गर्न कम्मर कसेर लागेकी छिन् । उनका उमेरका कतिपय पिढीमा बसेर बिंडी तान्दै सन्तानका आशमा जीवन गुजार्नेहरु नभएका होइनन् तर चम्पा थकालीका पाखुराहरु थाकेका छैनन् । हिम्मत र जोश सेलाएका छैनन् ।
उनको त्यो जाँगर र कर्मशीलता होटल व्यवसाय र पर्यटन उद्यमसँग जोडिएको छ । चम्पाको खाना पकाउने सम्बन्धी ज्ञान,सीप र कला क्रमशः परिवारका अन्य सदस्यहरुमा पुस्तान्तर हुँदै गएका छन् । केराबारीमा उहिले पाइने खानाको स्वाद निख्खर र झ्न तिख्खर बनेर आएको छ भन्ने सन्देश नयाँ पुस्ताले दिनु आजको नयाँ आवश्यकता र चुनौती हुन् ।
नुवाकोटको बाटोहुँदै बोटेगाउँ,सालबास,रानीबास,मरेक,मस्यामको हटिया पुगिन्थ्यो । त्यतिबेलाको सिद्धार्थ लोकमार्ग बनिसकेको थिएन । नुवाकोटको बाटोहुँदै हटियामा बास बस्ने खाने,पिउने थलो थियो । लाहुरेहरु छुट्टी आउँदा भरियाहरुले भारी बिसाउने र लाहुरेहरु नाचगान गरी रमाईलो गर्थे । सोही ठाउँमा चम्पा थकालीले पनि होटल व्यवसाय सुरु गरेकी थिइन् । बुटवल तानसेन खण्डको बाटो बनेपछि उनीहरु केराबारीतिर आएका हुन् । अहिलेसम्म केराबारीमा होटल सञ्चालन गरेकी छिन् । सबैका होटलकी संस्थापक आमा बनेकी छिन् ।
मस्याम गाविसका पूर्वअध्यक्ष पूर्णबहादुर खाम्चा मगरले भन्दै थिए–त्यतिबेला हटियामा चम्पा दिदीको ठूलो र नाम चलेको होटल थियो । आउने जाने लाहुरेहरु र प्रतिष्ठित मानिसहरु त्यही गाँस र बास गर्थे । चम्पा दिदीलाई नचिन्ने को थियो होला र ! उनी त त्यतिबेलाको होटल क्वीन(रानी) नै थिइन् । हटियामा सारुनी फुपै र चम्पा दिदी भनेपछि सबैले चिन्दथे,जान्दथे ।
चम्पा थकाली आमा भन्दैथिइन्– उतिबेला केराबारीमा चियाको मूल्य सुका पैसा अर्थात् २५ पैसा थियो । खाना ठेकेदारलाई एक रुपैयाँ र अरुलाई ढाई रुपैयाँमा खुवाइन्थ्यो । अचेल ती कुराहरु एकादेशका कथा जस्तै लाग्छन् ।
खासमा चम्पा फूलको नाम हो । अंगे्रजीमा यसलाई प्लूमेरिया भनिन्छ । सुवासिलो यो फूलले सुन्दरता दिन्छ । त्यस्तै बासना र सुन्दरता चम्पा आमाले दिएकी छन् आफ्नै समाजलाई । कोभिड–१९ का कारण संसार त्राहीमाम छ । व्यापार व्यवसाय ठप्प छन् । आमाले संसारका मानवहरुलाई यो पीडाले मुक्ति दिलाओस् भन्ने शान्तिको कामना गर्दै १०८ माला जप्दै बसेकी छिन् ।
सबैका आदरणीय आमा,सबैका प्यारा आमा,सबैले जानेका र मानेका चम्पा थकाली आमालाई दीर्घायू र सुस्वास्थ्यको कामनासहित मंगलमय शुभकामना ।
कमला ितवारी सोमबार ०२ माघ, २०७९ आइतबार भएको विमान दुर्घटनामा सरकारले शोकमा बिदा दिएपनि आज बैंकिङ सेवा भने खुला रहेको…
प्रतिक्रिया