साँझपख एकान्तमा…………… यो गीत कुनैबेला रुपन्देही क्षेत्रका एफएमहरुमा खुब बज्ने गर्दथ्यो । अहिले पनि सम्झेकै होलान् गीत सुनेका संगीत पारखीहरुले । कसले गाएको गीत होला,संगीत कसले भ¥यो होला ? जिज्ञासा हुन सक्छ नयाँ पुस्तालाई ।
आधुनिक गीत थियो । त्यो गीतले एक किसिमले यस क्षेत्रमा झ्याली पिटेको थियो । एफएमहरुले गीतमात्र बजाएनन् । गीतका स्रष्टालाई नै एफएममा ल्याएर अन्तर्वार्ता लिने गर्थे कार्यक्रम प्रस्तोताहरुले ।
अभिलाषा एल्बमभित्र थियो साँझपख एकान्तमा……..गीत । भैरहवाका लव थापाले उनको सो एल्वमलाई माया र सम्मान स्वरुप काठमाडौंमा रेकर्डिङ्ग गराइ दिएका थिए । सो कार्यको संयोजन बागेश्वरी संगीतालयका सुरेश सेन्चुरीले गरेका थिए । उक्त एल्वम २०६१ सालतिर बजारमा आएको थियो ।
उनी थिए मित्रलाल अधिकारी । मायालु पारामा उनलाई बोलाउँदा मित्रु भन्छन् सबैले । मित्रुको दृष्टि शक्ति छैन । अर्थात् उनी दृष्टिविहीन हुन् । तर उनी अपाङ्गताभित्रका एक सबल र सशक्त कलाकार हुन् । गीत,संगीतमा पोख्त उनी जीवनको गरी खाने विषय नै यसलाई बनाउँदै आएका छन् ।
मित्रु,अहिले घरजम गरेर काठमाडौं सहरमा बस्दै आएका छन् । मित्रुले गोरखाकी लालुमाया गुरुङसँग अन्तरजातीय प्रेम विहे गरेका हुन् । लालुमाया पनि उस्तै दृष्टिविहिन छिन् । एउटा छोरो जन्मिएको छ तर उसको भने दृष्टि शक्ति बलियो छ । दुबैजनाले प्रमाण पत्र तह उत्तीर्ण गरेका छन् । मित्रुले धरानको ज्ञानचक्षु स्कूलमा सातकक्षासम्म पढेका हुन् । प्रवेशिका परीक्षा उत्तीर्ण भने पोखराको अमरसिंह माविबाट दोस्रो श्रेणीका साथ २०६० सालमा गरेका थिए ।
मित्रुका दम्पत्तिले आफ्नो छोरोको नाम असीमित अधिकारी राखिदिएका छन् । दुबैजना मिलेर नाम जुराएका रहेछन् । १० वर्ष टेक्दै गरेको असीमितसँग मित्रुका दम्पत्तिका असीमित आशा छन् । भरोसा हो असीमित । दायित्व बोकेको छ उसले दृष्टिविहिन आमाबाबाको भविष्यको ।
२०३९ सालको फागुन १३ गते पाल्पा,तिनाउको दोभानमा जन्मिएका मित्रुका बाबा हरिप्रसाद अधिकारी र आमा मानकुमारी अधिकारी हुन् । बाबाले संसार छाडिसकेका छन् । ठूलीदिदी सारदाले स्नातकोत्तर गरेर हेलेन केलर नामक अन्तर्राष्ट्रिय गैह्सरकारी संस्थामा कार्यरत् छिन् । अर्की दिदी नम्रताले स्नातक गरेर भक्तपुरमा स्कूल पढाउँछिन् । उनीहरु पनि दृष्टिविहिन नै छन् तर आफ्नै खुट्टामा उभिएका छन् । मिहिनेती दिदीबहिनीहरुका गौरवका गाथा छन् ।
जेठो दाइ भने इटहरीतिर छन् । उनी अपाङ्गता सम्बन्धी सहयोग गर्ने संस्थामा कार्यरत् छन् । माईलो दाजु चोपलाल अधिकारी दाङ्ग लालमटियामा रहेको माध्यमिक विद्यालयमा शिक्षक छन् । उनले नेपाली विषयमा स्नातकोत्तर गरेका छन् । विहे समेत गरी सकेका दुबै दृष्टिविहिन छन् ।
मित्रुले फुसर्दको समयमा रेष्टूरेण्ट र दोहोरी साँझहरुमा की–बोर्ड र अक्टोप्याड बजाउँछन् । मंसीरदेखि बैसाखसम्म भने उनी देशव्यापी भागवत महायज्ञमा भजनमण्डलीसँग बाजा बजाउन पुग्छन् । भावगत वाचनका बेला सिजनमा करिव ५० हजारसम्म मासिक आम्दानी हुने मित्रुले बताए । सोही आम्दानीले काठमाडौंको गोगबुमा मासिक चारहजार तीनसय घरभाडा लिएर परिवारसँग बसेका छन् । परिवार पालेका छन् । छोरालाई राम्रै स्कूलमा पढाएका छन् । यसपाली कोरोनाका कारण महायज्ञ कम सञ्चालन भयो भने रेष्टूरेण्ट र दोहोरी साँझ ठप्प छन् । जिउनका लागि हल्का समस्या त परेकै छ मित्रुले भन्दै थिए ।
एकपटक चिनजान र भेटघाट भएका मानिसहरुलाई मित्रुले श्वरले वा सुँघेर सजिलै चिन्दछन् । यो उनको विशिष्ट क्षमता हो । मज्जाले फेसबुक चलाउँछन् । फोनमा कुराकानी गर्छन् । यसका लागि उनलाई कसैको सहारा चाँहिदैन ।
मिठो श्वरका धनी मित्रुले गीत लेख्ने,कम्पोज गर्ने र संगीत भर्ने काम गर्छन् । योग्यता,क्षमता र दक्षता भएरपनि गतिलो स्थान नपाउँदा मित्रुले आफ्नो प्रतिभा खुलेर देखाउन पाएका छैनन् ।
यस्तै महायज्ञमा देश/विदेश आफ्नो प्रतिभा र क्षमता प्रदर्शन गर्दै जाने,छोरो असीमितलाई असल नागरिक बनाउने र उच्च शिक्षा दिने योजना बनाएका मित्रु (९८५११३१४०४) ले पाल्पा दोभानमा अर्थात् गाउँमै लालुमायासँगै बसेर सामाजिक सेवा गर्ने सपना बुनेका छन् । उनीहरु दुबैले दोभानमै जोबान कटाउने संकल्प गरेका छन् ।
कमला ितवारी सोमबार ०२ माघ, २०७९ आइतबार भएको विमान दुर्घटनामा सरकारले शोकमा बिदा दिएपनि आज बैंकिङ सेवा भने खुला रहेको…
प्रतिक्रिया