सय दिनको हनिमुन पिरियड समाप्त भएपछि कोरोना भाइरसका जीवाणुहरूको समीक्षा बैठक बस्यो । सहभागीहरूको सुझाब लिने र नयाँ नीति तय गर्ने समझदारी भयो ।
प्रतिनिधि जीवाणुहरू पालैपालो बोल्न थाले–
‘अध्यक्ष महोदय, हामीले मानिसको शरीरमा प्रवेश गर्ने र सङ्क्रमण गराउने काम जारी राखेका छौँ । तर यो लकडाउन र मानिसहरूको सचेतनाले गर्दा थप मानिसहरूलाई सङ्क्रमण गराउन गाह्रो भइरहको छ ।’
‘मानिसहरूले भेटघाट गर्ने, हातमिलाउने, अँगालो हाल्ने लगायतका काम बन्द गरेका छन् । बाहिर निस्कने र भीड गर्ने काम पनि गर्दैनन् । त्यसले गर्दा एक जना सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा प्रवेश गर्न मुस्किल भइरहेको छ ।’
सहभागीहरूका कुरा सुनेपछि अध्यक्ष भाइरसले भन्यो, ‘तपाईँहरूले आजसम्म गरेको काम प्रशंसनीय छ । मानिसहरू हामीदेखि डराइरहेका पनि छन् । तर मानिसहरू सचेत हुँदै जानु हाम्रा लागि दुःखको कुरा हो । अब हामीले नयाँ नयाँ सम्भावनाहरूको खोजी गर्नुपर्छ ।’
‘सम्भावना के हुन सक्छन् हजुर ?’ सभाको बिचबाट जिज्ञासा आयो ।
‘अहिले पनि मानिसहरू तरकारी र फलफूल भनेपछि हुरुक्क हुन्छन् । बजारमा सधैं भीड लागिरहेको हुन्छ । त्यसैले अब हामी भीडभाड हुने बजारमा जाने अनि एक मानिसबाट अर्कोमा सर्ने र विभिन्न खाले तरकारी, फलफूल लगायतका खाद्य वस्तुमा टाँसिएर घरघरमा पुग्ने प्रयास गर्नुपर्छ ।’
अध्यक्षको कुरा सुनेपछि सभाको बिचबाट आवाज आयो, ‘दुधका पोका र पसलबाट किन्ने अन्य सामानहरूमा टाँसिएर पनि जान सकिन्छ होला नि ?’
अध्यक्षले भन्यो, ‘सचेत मानिसहरूले त्यस्ता वस्तुहरू घरमा लगेपछि साबुनपानीले राम्रोसँग धुन्छन्, पखाल्छन्, चर्को घाममा सुकाउँछन् । त्यसो गरेमा हाम्रो अस्तित्व समाप्त हुनसक्छ । अन्यथा हामी सजिलै नयाँनयाँ ठाउँमा पुग्न सक्छौँ । यो माध्यम हाम्रो लागि उपयुक्त हुन सक्छ ।’
‘त्यसो भए अब हामी त्यतैतिर लागौँ त ?’ सहभागीहरूले भने ।
‘हुन्छ जानोस्, अबको हाम्रो माध्यम भनेकै त्यही हो ?’
अध्यक्षको कुरा सुनेपछि सहभागीहरू त्यतैतिर लागे ।
प्रतिक्रिया