थाहा छैन । मैले उनलाई कहिले कहाँ देखें ? उनले मलाई कहाँ र कहिले भेटेका हुन् ? त्यो कुरा उनलाई पनि थाहा नहुन सक्छ । अहिले दुबै परिचित छौं । एक अर्कालाई नजिकैबाट चिन्दछौं र जान्दछौं । तैपनि हामीबीच धेरै गोप्य कुरा छन् ।
मलाई धमिलो गरी याद आउँछ हामी पाल्पा दोभानको तीनहले गाउँमा जाँदाखेरी सँगै उकालो चढेको,पानीले बाटामा नराम्रो गरी कुटेको,शरीरका सबै लुगा भिजेर निथु्रक हुँदा निचोरेर लुगा लगाउँदै आगाका छेवैमा बसेर रातका पलहरु बिताएको ।
गएका साथीहरु त जाडो हटाउने सिरक ओढे । म लगायत करिव चारजनाले झम्केपानी नखाएर आगोको सहारा लिएको । महिना असोज घटस्थापनाको अवसर थियो । गाउँमा नौं घरमात्र दलित जातिको बसोबास रहेको उक्त गाउँ पुग्दा केराको थाँबोलाई स्वागत गेट बनाएर रातो तुलमा स्वागत लेखिएको थियो ।
सामुदायिक वन समन्वय समिति,दोभान,प्रलेस,नेपाल,रुपन्देही र रेडियो जागरणको संयुक्त आयोजनामा सो स्थानमा हामीले विभेद विरुद्धको कविता यात्रा गरेका थियौं । सो कार्यक्रमको प्रत्यक्ष प्रशारण रेडियो जागरण र रेडियो लुम्बिनीले गरेका थिए ।
जातीयताकै कारण आजपनि हाम्रो समाजमा धेरै ठूलो खाडल छन् । त्यही विभेदको दूरीलाई कम गराउनका निम्ति वा विभेदको खाल्डो पुर्नका लागि एक किसिमको सहभोज,सहयात्रा,समन्वय र सहकार्यकै रुपमा उक्त कार्यक्रमलाई लिएका थियौं ।
जीवनको यात्रामा उनीसँग दोस्रोपटक प्रकृतिसित साहित्य यात्रामा फेरि पनि दोभानको बेरुवा गाउँमा भेट भो । दालचिनीका माला लगाएर गाउँलेहरुले गरेको स्वागत आज समेत फोटोमा ताजै छ । त्यहि फोटो हेरेर आज मैले तिनै मान्छेको जन्मदिन सम्झिएको हुँ । थोरै भएपनि अक्षर दौडाउने कोशिस गरेको छु उनकै नाममा । हुन त उनले मेरा बारेमा धेरैवर्ष अघिनै यो दलबहादुरभन्ने मान्छे नामको लेख नै मेचीकाली दैनिकमा छपाइ गरेर सबैका सामू पुराएकै हुन् ।
उनी प्रलेस,नेपाल,रुपन्देहीको अध्यक्ष हुँदा उनकै समितिमा सदस्यका रुपमा थिएँ । उनको कार्यकाल पनि खासै उल्लेखनीय हुन सकेन । अनेक कुराहरुका कारण तीन चारवटा बैठकले तीवर्षको कार्यावधि टारेका थियौं । उनी अलि झोक्की र खरा मान्छे । अरुका कुरा सुन्ने तर आफ्ना अडान नछाड्ने,देखेका कुरा बोल्ने तर कसैसँग मोलमोलाई नगर्ने अनौठो बानी कै कारणले अहिले धेरैका नजरमा उनी सतिसाल जस्तै अडिग छन् ।
राजनीतिमा लागेर जीवनका स्वर्णीम यामहरु पार्टीका नाममा समर्पित गरे । नेकपा रुपन्देहीको पहिलो पार्टी सचिव समेत बनेका हुन् जस्तो लाग्छ उनी । जीवराज आश्रितलाई उनले नै पार्टीको सदस्यता दिएका थिए । मोदनाथ जस्ता साहित्यकार समेत उनकै समीपमा थिए । जीवनलाई नजिकबाट अर्थात् द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणबाट बुझेका उनले आफूलाई कहिलेपनि समाज र सामाजिक परिवेशबाट टाढा राख्न सकेनन् । उमेरले पौने सयमा रहँदै गर्दा आफूलाई समाजसँगै,साहित्यका माध्यमबाट जोडेका छन् ।
नयाँ पुस्ताले पुरानो पुस्तालाई नगन्ने र पुरानो पुस्ताले नयाँलाई स्वीकार नगर्ने परम्पराको विरुद्धमा उभिएका उनका सबै प्रकारका साथीहरु छन् । उमेरले डाँडो काट्दै गर्दा कहिलेकाँही उठ्ने रीस,देखिने शारीरिक परिवर्तन र मानसिक एवम् मनोवैज्ञानिक परिवर्तनलाई सन्तुलित रुपमा अघि बढाउँदै लगेका छन् ।
जीवराज आश्रित स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष भईसकेका उनले टोपी खस्ने आलिशान भवनमात्र होइन उनका विचारलाई समेत उस्तै उँचो बनाउने काममा बित्ता कम गरेनन् । उनको जीवनगाथा छाप्न सक्दो नेतृत्व गरे । तत्कालीन पार्टी नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले उनलाई सम्वत् २०५९ सालमा राष्ट्रिय सभाको सदस्य बनाएको थियो । तत्कालीन राजा ज्ञानेन्द्रले कू गर्दा उनी राष्ट्रिय सभाको सदस्य बनेका थिए । शाही कूका विरुद्धमा आावाज उधाउनेमा उनी पनि एक थिए ।
अचेल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को साधारण सदस्य समेत छैनन् । उनलाई राजनीतिप्रति विरक्ति समेत लागेका होलान् । तर सार्वजनिक रुपमा जे पायो त्यस्तो बोल्दैनन् । सरकारको बचाउका लागि उनले बोली रहन कुनै जरुरत देख्दैनन् ।
कुनै समयमा उनी तत्कालीन एमालेको केन्द्रीय सल्लाहकार थिए । अचेल उनलाई कुनै पार्टीमा र कुनै तहमा बसेर काम गर्नु छैन । बरु साहित्यिक माहोल बनाएर त्यसैमा रम्नू जत्तिको अरु कुनै मज्जा उनलाई छैन । बाग्लुङ्ग पहाड घर थियो उनको । अचेल बुटवलको दीपनगरमा घर छ । तिलोत्तमामा समेत नयाँ घर बनाउँदैछन् ।
उनका बारेमा मलाई धेरै कुरा थाहा छैन । उनका छोराछोरी कहाँ के गर्दैछन् ? उनका बाँच्ने आधार केके छन् ? त्यी उनका गोप्य कुरा भए । मलाई धेरै कुरा थाहा हुनु पर्दैन । उनी र मबीच भावनात्मक समबन्ध छ । मात्र साहित्यिक साथीभाइ जस्तै हौं ।
त्यति धेरै लामो राजनीतिक ईतिहास बोकेका उनका दाह्ीजुंघा त्यसै फुलेका होइनन् । विचार र दर्शको अध्ययन अनि व्यवहारिक प्रयोगमा बिताएको समयले फुलाएका होलान् । एकपटक पार्टीले ७० वर्षमाथिका पार्टी सदस्यहरुका सदस्यता नवीकरण नगर्ने वा सक्रिय राजनीतिबाट बिदा दिने वा लिने भन्ने के कसो कुरा आउँदै थियो । त्यही मौका पारेर उनले आफ्नो पार्टी छाडेका हुन् । अनुशासनका पक्का उनले पार्टीमा पद र प्रतिष्ठा नपाएर पार्टी छाडे कि भन्नेहरु समेत होलान !
उनलाई नेकपा नामक शक्तिशाली पार्टीले पुनः केन्द्रीय सल्लाहकार बनाउन सक्दैन ?उनलाई ज्येष्ठ कम्युनिष्ट मञ्चमा राखेर अनुभव शेयरिङ्ग गराउन सक्दैन ? उनी जतिको इमान्दार र जागरुक सच्चा पुराना एवम् पाका विचारकलाई पार्टीको कुनै तहतप्कामा राखेर अभिभावकका रुपमा ग्रहण गर्न सक्दैन ?
ऊँखु चपाएर फालेका छोक्रा जस्तै मिल्काउन मिल्छ एउटा इतिहासका खम्बालाई ? खोला त¥यो लौरो बिर्सियो जस्तै गर्नेहरुले आजको दुईतिहाइ नजिकको सरकारका लागि त्यतिबेल भूमिगत कालमा ज्यान खुकुरीको धारमा राखेर संगठन नबनाएको भए आज बन्थ्यो होला बलियो सरकार कल्पना गर्न सक्छन् ?
लौरा टेकेर,पाखुरामा अरुले समाएर हिडाल्नु पर्नेहरु प्रदेश प्रमुख बन्दा उनलाई त्यो पद वा प्रतिष्ठा हातबाट फुस्केको भोटी माछा हुनु पथ्र्यो र ?
उनले पार्टीका नाममा आफ्ना जीवनका धेरै दिनहरु खर्चिएका हुन् । जेल यात्रा गरेका हुन् । घरबास र तातो गाँस छाडेर जनताका घरदैलामा कम्युनिष्टको सरकार र सत्ता ल्याउनका निम्ति प्रयास कति गरे भन्ने कुरा त गोप्य तर खुल्ला किताव झैं छन् ।
उनका उमेरकाले पार्टीमा सदस्यता नपाउने भए आजसम्म कतिजनाले पार्टीबाट स्वतः राजिनामा दिए त ? उनी आज पनि स्कूटी हाँकेकै छन् । युवा हुन् या अरुले आयोजना गरेका कार्यक्रममा अरुका सहाराबिना पुगेकै छन् । दौडधूप गरेकै छन् । पढाई लेखाई अरु नेताकोभन्दा कम्ति छैन ।
उनको हिम्मत,आँट,शाहसको जति सक्दो प्रयोग गर्न सकेमा पार्टीमा कसैलाई हानी हुने छैन । उनको मनको इच्छा के छ ? त्यो त गोप्य कुरा नै भयो तर मेरो मनले त्यहि भन्दैछ ।
जन्मदिनको अवसरमा यही गोय कुरालाई लिपीवद्ध गरेर दिएको छु । उनी अरु कोही नभएर तिनै देवेन्द्र घिमिरे,कपिलबन्धु हुन् ।
कमला ितवारी सोमबार ०२ माघ, २०७९ आइतबार भएको विमान दुर्घटनामा सरकारले शोकमा बिदा दिएपनि आज बैंकिङ सेवा भने खुला रहेको…
प्रतिक्रिया